देवदहमा विश्वविद्यालयलाई सय बिगा जग्गा दिने मन्त्रीपरिषद्को निर्णय

बुद्धको मावली देवदहमा लुम्बिनी बौद्ध विश्वविद्यालयका लागि सरकारले एक सय बिगा जमिन दिने निर्णय गरेको छ। मन्त्री परिषद्को फागुन ११ गतेको बैठकले देवदह नगरपालिका वडा नम्बर ८ स्थित बुद्धमावली सामुदायिक वन क्षेत्रको जग्गा विश्वविद्यालयलालाई दिने निर्णय गरेको हो।

लुम्बिनीमा केन्द्रीय कार्यालय रहेको विश्वविद्यालयलाई शैक्षिक कार्यक्रम विस्तारका लागि जग्गा अपुग रहेको थियो। विश्वविद्यालयले पाँच वर्षदेखि देवदहमा जग्गा प्राप्तीका लागि पहल थालेको थियो। वनको जग्गा प्राप्तिका लागि अन्य स्थानमा जग्गा खरिद गरेर सोधभर्ना गर्नुपर्ने या सो वापतको रकम बुझाउनुपर्ने कानूनी प्रावधान छ। अर्थ मन्त्रालयले विश्वविद्यालयका लागि जमिन दिँदा चाहिने करिव २० करोड रकम बन मन्त्रालयलाई दिने प्रतिवद्धतापछि मन्त्रीपरिषद्ले जग्गा दिने निर्णय गरेको हो।

रुपन्देहीका जनप्रतिनिधि एवं अर्थमन्त्री विष्णु पौडेलले विशेष पहलकदमी गर्दै वनमन्त्रालयलाई अर्थ नै सोधभर्ना गर्ने निर्णय लिएपछि विश्वविद्यालयले जग्गा प्राप्ती गरेको हो। पौडेलले निर्वाचनमा आफ्नो घोषणा पत्रमै बौद्ध विश्वविद्यालयको विकासलाई प्राथमिकतामा राखेका थिए। सोही अनुरुप देवदहमा ६१ दशमलव २५ हेक्टर क्षेत्रफल रहेको जग्गामा विश्वविद्यालयले पूर्वाधार निर्माण गर्नेछ। रुपन्देहीको पूर्वाधार विकासमा ठूलो काम गरिरहेका अर्थमन्त्री पौडेलले शिक्षा र स्वास्थ्य क्षेत्रको पूर्वाधार विकासमा जोड दिदै आएका छन्।

Read More: http://annapurnapost.com/news/175890

Leave a Reply

Your email address will not be published. Required fields are marked *