बौद्ध विश्वविद्यालय र शंखारापुर नगरपालिकाबीच सहकार्य सम्झौता

बुटवल । लुम्बिनी बौद्ध विश्वविद्यालय र काठमाण्डौंको शंखारापुर नगरपालिकाबीच आपसी सहकार्य सम्बन्धी सम्झौता भएको छ । शैक्षिक विकास, अध्ययन अनुसन्धानका विषयमा एकआपसमा मिलेर काम गर्ने उद्धेश्यसहित दुई पक्षीय सम्झौता भएको हो । २०७८ असोज ८ गते शुक्रबार आयोजित एक कार्यक्रमकाबीच सम्झौता पत्रमा विश्वविद्यालयका उपकुलपति प्रा.डा. हृदयरत्न बज्राचार्य र शंखारापुर नगरपालिकाका प्रमुख सुवर्ण श्रेष्ठले हस्ताक्षर गर्नुभयो । शंखारापुर नगरपालिका बौद्ध समुदायको प्राचिन र ऐतिहासिक थलो हो । नगरपालिकाले बौद्ध स्थलको अध्ययन अनुसन्धान र बौद्ध शिक्षाको प्रवद्र्धन गर्ने योजनासहित शैक्षिक कार्यक्रम सञ्चालन गर्ने योजना बनाएको छ । सो अवसरमा बोल्दै विश्वविद्यालयका उपकुलपति प्रा.डा. हृदयरत्न बज्राचार्यले नगर क्षेत्रमा रहेका ऐतिहासिक विहारसहित अन्य बौद्ध क्षेत्रको अध्ययनमा विश्वविद्यालयले सघाउने बताउनुभयो । शंखारापुर प्राचिन थलो भएको भन्दै यसको अध्ययन अनुसन्धान जरुरी रहेको उहाँले बताउनुभयो । त्यस्तै विश्वविद्यालयका रजिष्ट्रार डा. तिलकराम आचार्यले बौद्ध शिक्षाको प्रवद्र्धनका लागि विश्वविद्यालयले सरकारी निकायसंग सहकार्य गर्ने नीति लिएको बताउनुभयो । सोही नीति अनुरुप सहकार्य गर्ने स्थानीय सरकारमध्ये शंखारापुर दोस्रो भएको उहाँले जानकारी गराउनुभयो । यसअघि दाङको तुल्सीपुर उपमहानगरसंग शैक्षिक कार्यक्रम सञ्चालन गर्ने गरी सम्झौता भएको थियो । शंखारापुर नगरपालिकाका प्रमुख सुवर्ण श्रेष्ठले भाग्योदय बहुमुखी क्याम्पसमा शैक्षिक कार्यक्रम सञ्चालन गर्न र नगरभित्रका प्राचिन क्षेत्रको अध्ययन अनुसन्धान गर्नका लागि आफूहरु बौद्ध विश्वविद्यालयसंग सहकार्य गर्न आएको बताउनुभयो । स्थित भाग्योदय बहुमुखी क्याम्पसका प्रमुख बौद्धराज निरौलाले बौद्ध दर्शनसंग जोडेर आयआर्जन मुलक कार्यक्रम सञ्चालन गर्ने योजना रहेको बताउनुभयो । सो कार्यक्रममा शंखारापुर नगरपालिका उपप्रमुख शुक्रलक्ष्मी श्रेष्ठ, विश्वविद्यालयका डीनहरु डा. माणिकरत्न शाक्य, उकेशराज भुजु, प्रा.डा. रामचन्द्र पौडेल, निमित्त परीक्षा नियन्त्रक इन्द्र काफ्ले, अन्र्तराष्ट्रिय सम्बन्ध केन्द्रका संयोजक डा. सन्जिव हुमागाई, विश्वविद्यालयका सूचना अधिकृत चुरामणि पोखरेल, शंखारापुर नगरपालिकाका शिक्षा अधिकृत कमला पोखरेललगायतको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *