विश्वविद्यालयमा आधारभूत प्रशासनिक तालिम

लुम्बिनी । लुम्बिनी बौद्ध विश्वविद्यालय, लुम्बिनीको आयोजनामा मिति २०७८ असार १५ गतेदेखि विश्वविद्यालयका नयाँ नियुक्त र पुराना कर्मचारी लक्षित आधारभूत प्रशासनिक तालिम शुरु भएको छ । केन्द्रीय कार्यालय लुम्बिनीमा औपचारिक समारोहकाबीच तालिमको शुभारम्भ भयो ।

तालिम शुभारम्भ कार्यक्रमको अध्यक्षता ग्रहण गर्नुभएका विश्वविद्यालयका उपकुलपति प्रा.डा. हृदयरत्न बज्राचार्यले तालिममा सिकेको कुरालाई व्यवहारमा उतार्न आग्रह गर्नुभयो । कुनै व्यक्तिलाई अघि बढ्नका लागि ज्ञान, सीप र प्रवृत्ति (सोच) महत्वपूर्ण पक्ष रहने उहाँले बताउनुभयो । बौद्ध शिक्षाको सिद्धान्तमा रहेर विश्वविद्यालयमा कार्यसम्पादन गर्न उहाँले तालिममा सहभागिहरुलाई आग्रह गर्नुभयो ।

कार्यक्रममा विश्वविद्यालयका रजिष्ट्रार डा. तिलकराम आचार्यले लुम्बिनी विश्वविद्यालयमा काम गर्ने कर्मचारीमा विशिष्टतामा व्यवसायिकता हुनुपर्ने बताउनुभयो । सेवा सुविधाका विषय समकक्षी संस्थाहरुकै हैसियतमा हुने बताउँदै उहाँले कार्यसम्पादनमा भने विशष्टिकृत हुनुपर्ने बताउनुभयो । बौद्ध विश्वविद्यालय विशिष्कृत विश्वविद्यालय रहेको र यसको प्रशासनलाई चुस्तदुरुस्त राख्न कर्मचारीको भूमिका महत्वपूर्ण हुने उहाँले बताउनुभयो ।

विश्वविद्यालयका बौद्ध अध्ययन संकायका डीन डा. माणिकरत्न शाक्यले कर्मचारीहरुमा विश्वविद्यालयप्रति अपनत्व जरुरी हुनुपर्ने बताउनुभयो । कर्मचारीले सबैभन्दा पहिले आफ्नो काम के हो ? कर्तव्य के हो ? जिम्मेवारीबोध के हो भन्ने सुरुमै बुझ्नुपर्ने बताउदै उहाँले त्यसअनुरुप कार्यसम्पादन गर्दे जानुपर्ने बताउनुभयो ।

विश्वविद्यालय अनुसन्धान केन्द्रका निर्देशक प्रा. डा. गितु गिरीले कर्मचारीमा नैतिकता महत्वपूर्ण रहने भन्दै बौद्ध विश्वविद्यालयमा काम गर्ने जो कोहीमा सोही आचरण देखिनुपर्ने बताउनुभयो । भष्ट्र आचरण, निजामती क्षेत्रका विकृति देखिने गरी विश्वविद्यालयमा काम हुन नहुने भन्दै सजग, सचेत र जिम्मेवार भएर अघि बढ्न कर्मचारीहरुलाई आग्रह उहाँले गर्नुभयो ।

लुम्बिनी बौद्ध विश्वविद्यालय केन्द्रीय क्याम्पसका संस्थापक क्याम्पस प्रमुख इन्द्र काफ्लेले आफ्ठ्याराका बीच सकारात्मक भएर काम सम्पादन गर्नुपर्ने बताउनुभयो । विश्वविद्यालय अघि बढाउनका लागि कर्मचारी प्रशासनको महत्वपूर्ण भूमिका रहने भन्दै सकारात्मक भावनाका साथ काम गर्दे अघि बढ्न कर्मचारीहरुलाई आग्रह गर्नुभयो ।

विश्वविद्यालयका उपप्राध्यापक दायनिधि गौतमको सञ्चालनमा भएको कार्यक्रममा बौद्ध अध्ययन संकायका सदस्य भिक्षु महास्थविर डा. साङ्किच्चले पञ्चशील ग्रहण गराउनुभएको थियो । विश्वविद्यालय केन्द्रीय क्याम्पसको सभाहलमा भएको तालिममा नयाँ र पुराना गरी २३ जना कर्मचारीको सहभागिता रहेको छ । तालिमको पहिलो दिन भिक्षु महास्थविर डा. साङ्किच्च र डा. संजिव हुमागाईले सहजीकरण गर्नुभएको थियो । तालिम असार ३० गते समापन हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *